“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Free-Montessori) शिक्षा अभियान”

Share this Story

सकारी विद्यालयमा पढाइको राम्रो वातावरण भएमा लाखौँ खर्च गरेर आफ्नो घर छाडेर सहरमा छोरा छोरीलाई पढाउने रहर कसको हुन्छ र ? तर ग्रामीण भेगमा शिक्षाको गुणस्तर धेरै कमजोर भइसकेको छ । पढाइ कमजोर भएकै कारण हाम्रा लाखौँ दाजुभाइ हरु निम्न स्तरको काम गर्न श्रमिक भिषामा खाडी मुलुकतिर जान बाध्य भएका छन् । क्याम्पस तहको शिक्षा प्राप्त गरिसकेका ब्यक्तिहरु पनि सेक्युरिटि वा होटेलमा निम्न स्तरको पदमा काम गर्न विवस भइरहेको यथार्थ हाम्रा सामु छ ।

खाडी मुलुकमा काम गर्दै गर्दा जब हाम्रा दाजुभाइलाई शिक्षाको महत्व थाहा हुन्छ, तब यिनिहरुले घरमा आफ्नी श्रीमतीलाई फोन गरेर छोराछोरीलाई महङ्गा निजी विद्यालयहरुमा पढाउन सहर तिर पठाउँछन् । अर्थात आफूले ४०/५० डिग्रीको चर्को गर्मीमा बगाएको पसिना सहरका महङ्गा बोर्डिङ स्कुलहरुमा छोराछोरीको महङ्गो पढाई फिस र कोठा भाडा तिर्न नै ठिक्क हुन्छ । यदि गाउँघरमै राम्रो पढाइ हुने विद्यालयहरु भए भने विदेशमा पसिना बगाइरहेका हाम्रा लाखौँ दाजुभाइहरुले आफ्नो पसिनाको कमाइबाट आवासका लागि आफ्नै एउटा घर बनाउन सक्थे होलान्, घरमा बा–आमा, श्रीमती र छोराछोरीसँगै बसेर दुई छाक राम्ररी खाने जोहो गर्न सक्थे होलान् ।

साथीहरु, म सहरीया महङ्गा निजी विद्यालयहरुको विरोधी होइन । देशमा सरकारी विद्यालयहरुमा उचित शैक्षिक वातावरण नहुँदा वा उक्त वातावरण बनाउन नसक्दा कुनै– कुनै निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको म हृदयदेखि नै कदर गर्दछु ।

तर निजी विद्यालयहरुमा छोरा छोरीलाई पढाउन लाखौँको खर्च बेहोर्नु पर्दछ । तर महङ्गा विद्यालयहरुमा पढाउँदैमा छोराछोरीको भविष्य राम्रै होला भन्ने ग्यारेन्टी हुँदैन । सहरको रमझम र सहरिया वातावरणले छोएर धेरैका छोराछोरी बिग्रेका वा बर्बाद भएका तिता यथार्थ हाम्रा सामु एकातिर छन् भने अर्कोतिर आर्थिक अवस्था अत्यन्त कमजोर भई गाउँघरमै अध्ययनरत धेरैजसो बालबालिकाहरुले उचित शैक्षिक वातावरण पाउन नसक्दा शैक्षिक गुणस्तर कायम गर्न सकेका छैनन् । प्रायजसो गाउँघर तिर अभिभाबकहरुको शिक्षाप्रतिको न्यून ज्ञान तथा कम चासोको कारण बालबालिकाहरुको पढाइप्रति ध्यान नदिन सकेको अवस्था हाम्रा सामु छन् । यति मात्र होईन बालबालिकाहरु घरमा बा–आमाले भनेको नटेर्ने, नियमित विद्यालय नजाने, विद्यालयमा कापी कलम नलैजाने, ९–१० कक्षामा पुग्दा समेत सरल नेपाली भाषामा लेखिएका पाठ्यपुस्तक पढ्न नसक्ने ( अक्षर चिनारी नै भएको हुदैन: बालबालिकाहरुलाइ किताब पढ्न लगाएमा यो यथार्थ आफैँ झल्कन्छ) हुँदा हुँदै ग्रामीण भेगका क्याम्पस पढ्ने बिद्यार्थीहरु (कुनै कुनै) त क्याम्पस लाई पनि क्यापस लेख्ने गरेको पाइन्छ । (बिद्यार्थीहरुले क्याम्पसमा भरेका परीक्षा फाराम वा उत्तर पुस्तिकाहरुको अवलोकन गर्दा हुन्छ ) ।

यतिमात्र होइन, विदेशबाट श्रीमान्ले पठाएको पैसा लिएर सहरिया रमझमसँगै श्रीमती अर्कैसँग बेपत्ता हुने वा अन्जान ठाँउमा कसलाई पो थाहा हुन्छ र भनेझैं कुनै दाजु भाइ का श्रीमती अर्कैसँग होटेलमा यौन प्यास मेटाउने यथार्थ समय समयमा प्रशारण भएका समाचार तपाईँ हामी सामु छँदैछन् ।

यी विविध समस्याहरुलाई मध्य नजर गर्दै सपोर्ट सोसाईटी नेपालले १५ बर्षे आत्मनिर्भताको लागि शिक्षा परियोजना लागु गर्दैछ । यो १५ बर्षे योजना तिन चरणमा लागु हुदैछ ।

प्रथम चरण (Phase l): प्रथम चरणको कार्यक्रमको लागि तिन वर्ष निर्धारण गरिएको छ । प्रथम चरणको कार्यक्रममा बालबालिकाहरुको प्रारम्भिक नेपाली मातृभाषा र अंग्रेजी पढाई तथा गणितमा जोड दिइने छ । बालबालिकाहरु नेपाली भाषामै पढेर बुझ्न सक्ने मात्र भए पनि त्यस बाहेकका सबै बिषयहरु जस्तै सामाजिक, विज्ञान आदि बिषयहरु आफैले पढेर बुझ्न सक्ने हुन्छन् । प्रारम्भिक कक्षामै अंग्रेजी भाषाप्रति रुचि जगाउन सक्यौँ भने तथा सामान्य अंग्रेजी भाषामा लेखिएका पाठ पढ्न सक्ने बनाउन सकियो भने भबिष्यमा बालबालिकाहरुको अंग्रेजी भाषा प्रतिको हाउगुजी आफैँ समाप्त हुन सक्दछ । त्यसैगरी गणित विषयका विद्यार्थीहरुको रुचि जगाएर आधारभूत ज्ञान दिन सकियो भने भबिष्यमा कुनै पनि बालबालिका गणितमा फेल भएर आफूले रोजेको विषय वा पेसा छनौट गर्नबाट बञ्चित हुने छैनन् । प्रथम चरणको कार्यक्रम (शिक्षण) पुर्ण रुपमा खेल विधिबाट सञ्चालन गरिने छ । जसको लागि सुरुवाती चरणमा बैतडी जिल्लाको मेलौली नगरपालिका वार्ड नं. १ मा कार्यक्रम सञ्चालन गर्न २५ जना शिक्षक शिक्षिकाहरुलाई ७ दिने बालमैत्री, बहुकक्षा शिक्षण तथा कम पैसा पर्ने र पैसा नपर्ने शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न भैसकेको छ । हाम्रो योजना यो कार्यक्रम अन्य नगरपालिका, गाउँपालिका हुँदै देशभरी लागु गर्ने रहेको छ ।

दोस्रो चरण (Phase II): हामीले दोस्रो चरणको कार्यक्रम नौ वर्षको निर्धारण गरेका छौँ । सो नौ बर्षमा हामी बालबालिकाहरुलाई गुणस्तरीय आधारभूत शिक्षा प्रदान गर्न सहयोग गर्नुका साथै बालबालिकाहरुलाई career counseling गर्नेछौँ । बालबालिकाहरुको इच्छा, चाहना र क्षमताको आधारमा बालबालिकाहरुलाई नै कुन पेसा रोज्ने decision गर्न लगाउँनेछौँ ।

तेस्रो चरण (Phase III): तेस्रो चरणको कार्यक्रम तिन वर्षको निर्धारण गरेका छौँ । यो तिन वर्षमा बालबालीकाहरुलाई उनीहरुले नै रोेजेको पेसाको लागि रोजगारमूलक शिक्षा प्रदान गर्न सहयोग गर्नेछौँ , जस्तै कुनै विद्यार्थी डाक्टर बन्न चाहन्छ भने उक्त विद्यार्थीलाई कम पैसा पर्ने सरकारी कोटामै डाक्टर पढ्न आवश्यक तयारीमा पूर्ण सहयोग गर्दै MBBS मा भर्ना नहुञ्जेलसम्म सहयोग गर्नेछौँ । हाम्रो उद्देश्य ग्रामीण भेगका बालबालिकाहरुलाई निम्न १३ क्षेत्रसँग सम्बन्धित राष्ट्रलाई अतिआवश्यक कुशल डाक्टर, इन्जीनियर, प्राध्यापक, पाइलट, चाटर्ड एकाउन्टेन्ट, वकिल, शिक्षक, प्रशासनिक अधिकृत, सैन्य अधिकृत, म्यानेजर, सफल व्यापार व्यवसायी, कुशल राजनेता र व्यवसायिक कृषक बनाउने रहेको छ ।

यी क्षेत्रहरु छनोट गर्नुको कारण आजसम्म प्रायः जसो यी पदहरुमा गरिब तथा अभावमा गाउँघरमै जीवन बिताइरहेका अभिभावकका छोराछोरी पुग्न सकेका छैनन् (कुनै अपवाद बाहेक) । तर उचित अवसर पायो भने र सबैको साथ सहयोग पायो भने यी बालबालिकाहरु पनि देश र जनताको लागि गुणस्तरीय निस्वार्थ सेवा गर्न सक्ने बन्न सक्छन् । हाम्रो उद्देश्य महङ्गा महङ्गा विद्यालयहरुमा रमाई रमाई पढ्ने बालबालिकाहरु जस्तै आफू पनि पढ्ने रहर भएका ग्रामिण भेगका बालबालिकालाई सहयोग पु¥याउने हो । सहरबाट दशैँमा गाउँघर फर्किएका बालबालिकाहरुले सहरीया आधुनिक पढाइ शैलीको साटासाट गर्दा गाउँघरमै पढिरहेका बालबालिकाहरुमा रहेको हिनताबोध वा आफ्नो गाउँघरको पढाइले जिन्दगीमा सफलता प्राप्त गर्न नसकिने हो कि भन्ने निराशा कम गर्दै गाउँमा बस्ने बालबालिकाहरुले हाम्रो विद्यालयमा पनि त्यस्तै गरी त पढाउँछन नि भन्दै सहरीया बच्चाहरुसँगै खेल्न सिकाउनु हो । सफल जिन्दगी जिउने आधार निर्माण गर्नु हो ।

यता राज्य पक्ष बाट पनि शिक्षामन्त्री देखि प्रधानमन्त्री सम्म सरकारी कोषबाट तलब खाने सम्पुर्ण कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढाउने भन्नु हुन्छ । तर कसैले पनि पढाइरहेको देखिँदैन । यद्यपी सरकारी विद्यालयमा पढाउने शिक्षकले पनि आफ्ना छोराछोरीहरुलाई निजी विद्यालयमा पढाउने तिता यथार्थ हाम्रा सामु छन् ।

सरकारी विद्यालयमा पढाउनुुपर्छ भन्ने भाषण गरेर वा नीति तयार गरेर मात्रै पुग्दैन कि ? मैले भाषण गरेर कसैलाई आरोप लगाएको वा मजाक उडाएको होइन । मैले भन्न खोजेको सरकारी विद्यालयमा बालबालिकाहरुलाई पढाउने वातावरण बनाउनु पर्छ भनेको हो । म यस कार्यमा आफ्नो मन, वचन र कर्मले कटिवद्ध छु ।

“आऔं एक अर्कालाई सहयोग गरौं र सँगसँगै अगाडि वढौं” गाउँघरमै बालबालिकाहरुलाई पढाउने वातावरण बनाऔं, टोल टोलमा निःशुल्क मन्टेस्वरी शिक्षाबाट सुरु गरेर माध्यमिक तहको आधारभूत शिक्षा प्रदान तथा career counseling गर्दै बालबालिकाहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने शिक्षा दिँदै १५ वर्षभित्र हरेक बालबालिकाहरुलाई आत्मनिर्भर बनाउने अभियान टोल टोलबाटै थालनी गरौं।

तपाईँ हाम्रो सानो सहयोग, सद्भाव र सरकारात्मक सोचले तपार्इँ हाम्रा बालबालिकाहरुलाई गरिखान सक्ने शिक्षा दिन सक्छौँ र आत्मनिर्भर तथा समुन्नत समाज निर्माण गर्न सक्छौ ।

सहयोग तथा सेयरका लागि यहाँहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरुका अमुल्य सहयोग र सुझावको अपेक्षा गर्दछौँ ।